मधेस प्रदेशमा स्थानीय तह चुनावका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ । प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कुल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोग नेपालले २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।
निर्वाचन कार्यलयका अनुसार प्रदेशको धनुषामा पुरुष २ लाख ४८ हजार ८४०, महिला २ लाख १८ हजार ५४२ र अन्य छ जनासहित कुल ४ लाख ६७ हजार ३८८, महोत्तरीमा पुरुष २ लाख १२ हजार २०३, महिला १ लाख ७९ हजार ३७३ र एक जना अन्य गरी जम्मा ३ लाख ९१ हजार ५७७ र सर्लाहीमा २ लाख ५७ हजार १३८ पुरुष, २ लाख १७ हजार २९२ महिला र अन्य नौ गरी कुल ४ लाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।
त्यसैगरी, सप्तरीमा २ लाख १३ हजार ८९२ पुरुष, १ लाख ९८ हजार ५३२ महिला र अन्य २१ गरी कुल ४ लाख १२ हजार ४४५ र सिरहामा २ लाख १९ हजार ५६४ पुरुष, १ लाख ९४ हजार ६०० महिला र अन्य दुई गरी जम्मा ४ लाख १४ हजार १६६ कायम भएको छ ।
रौतहटमा पुरुष २ लाख २२ हजार ९४५, महिला १ लाख ८५ हजार ४६, अन्य एक जना गरी जम्मा ४ लाख ७ हजार ९९२, बारामा २ लाख ३१ हजार ८२६ पुरुष, १ लाख ९१ हजार ४९० महिला र ११ अन्यसहित कुल ४ लाख २३ हजार ३२७ र पर्सामा १ लाख ९१ हजार ५३७ पुरुष, १ लाख ४८ हजार २८३ महिला र १६ जना अन्यसहित कुल ३ लाख ३९ हजार ८३६ जना मतदाताले मतदान गर्न पाउने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए ।
यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तह चुनावमा मतदान गर्न प्रदेशभरि २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको उनले बताए । कायम गरिएको मतदानस्थल र केन्द्रअनुसार सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको उनले बताए ।
निर्वाचनका लागि निर्वाचन अधिकृतको तालिम सुरु भएको र आगामी ८ गतेदेखि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारीसमेत भइसकेको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिए । रासस
