सुर्खेत, ६ वैशाख । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् । नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव कँडेल अध्यक्षमा निर्वाचित भएका हुन् । आज बिहान सकिएकाे मतगणना अनुसार कँडेलले ४८ मतान्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गरे ।
कँडेलले ९ सय ११ र खड्काले ८ सय ६३ मत प्राप्त गरे । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत ९ सय ४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७ सय ३७ मत पाए । वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावल ९ सय २० मत ल्याएर विजयी भए । दीपेन्द्र ढकाल ७ सय ८४ मत पाएर पराजित भए ।
उद्योग उपाध्यक्षमा सिंहराज बम ८ सय ६७ मत ल्याएर विजयी भएका छन् भने पराजित प्रेम पाण्डेले ८ सय ५७ मत पाए ।
महिला उपाध्यक्षमा तारा रावत ८ सय ८२, महासचिवमा भद्र भण्डारी ८ सय ७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी ८ सय ७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डे ९ सय ३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८ सय ६५ मत ल्याएर विजयी भए ।
महिला उपाध्यक्षका उम्मेदवार कृष्णाकुमारी थापा ८ सय २१, महासचिवका उम्मेदवार रामप्रसाद जैसी ८ सय ६५, उपमहासचिवका उम्मेदवार पूर्णदेव अधिकारी ८ सय १२, कोषाध्यक्षका उम्मेदवार राजेन्द्रबहादुर शाही ७ सय ६५ र सहकोषाध्यक्ष पदका उम्मेदवार भीमप्रसाद पौडेल ८ सय ३२ मत ल्याएर पराजित भए ।
२०५८ मतदातामध्ये निर्वाचनमा १८ सय २४ मत खसेकाे थियाे । संघमा कांग्रेस समर्थित व्यावसायी नै दुई समूह बनाएर चुनाव लडेका थिए । कँडेललाई एमाले र खड्कालाई सत्ता साझेदार पाँच दल र राप्रपाका व्यावसायीकाे समर्थन थियाे । कँडेल कांग्रेसकाे संस्थापन इतर हृदयराम थानी समूह र खड्का संस्थापन पूर्णबहादुर खड्का समूहबाट चुनाव लडेका थिए ।
