विराटनगर,भदौ २
भारतको नेश्ले इण्डिया कम्पनीले उत्पादन गरेको ‘माइलो’ इनर्जी ड्रिंक पिउदा विराटनगरको एक स्कुलका दर्जन बढी विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । इनर्जी ड्रिंक पिएका कयौं विद्यार्थीमा वान्ता र बेहोस हुने समस्या देखिएको छ ।
विराटनगरको वडानम्बर २ स्थित बूढानिलकण्ठ सेकेण्डरी इंगलिस स्कुलमा सो कम्पनीको उत्पादनको प्रचार गर्न पुगेका प्रतिनिधिले दिएको माइलो इनर्जी ङि«क पिउदा विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएको हो । विद्यालयले ब्राण्ड प्रमोशनका लागि छुट्याइदिएको टिफिन टाईमको समयमा सो कम्पनीका प्रतिनिधि र डिलरले दिएको माइलो पिउने वित्तिकै विद्यार्थी बालबालिकाले वान्ता गर्नुका साथै बेहोस भएका थिए ।
विराटनगर २ का अभिभावक सुभाषकुमार साहले इनर्जी ड्रिंक पिएपछि आफ्नो छोरी बेहोस भएको बताए । उनले डेढ दर्जन बढी विद्यार्थीमा सोहि प्रकारको समस्या देखिएको बताएका छन । विराटनगर २ कै शान्ति तिम्सिनाले विद्यालयलाई कम्पनीहरुले प्रयोगशालास्थल बनाउन नहुने बताएकी छिन । विद्यार्थीले बान्ता गर्दै बेहोस हुनलागेको खबर पाएर आत्तिदै स्कुल पुगेका अभिभावकले आ–आफ्ना बालबालिकालाई उपचार गर्न भन्दै विराटनगरकै विराट अस्पताल लिएर गएका थिए ।
घटनाको सुचना पाएर पुगेको प्रहरीले नेश्ले इण्डियाका विराटनगर डिलर महेन्द्रकुमार अग्रवाललाई नियन्त्रणमा लिएको छ । अग्रवालले विद्यार्थी बालबालिकाले खाली पेटमा जुस पिएका कारण समस्या देखिएको हुनसक्ने दाबी गरेका छन । यता बुढा निलकण्ठ सेकेण्डरी इंगलिस स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले इनर्जी ड्रिंक पिएका केहि विद्यार्थीमा वान्ता गर्ने समस्या देखिएपनि कुनैपनि विद्यार्थी बेहोस नभएको दाबी गरेका छन ।