विराटनगर,भदौ २
उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयले चाडवाड नजिकिए संगै हुन सक्ने मिसावट, तौलमा ठगी र कालो बजारी नियन्त्रण गर्न अनुगमन शुरु गरेको छ । यसैक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयका उपसचिव सन्तोष विष्ट नेतृत्वको अनुगमन टोलीले शुक्रवार सुनसरी मोरङ औद्योगिक कोरिडोरका ५ वटा तेल उद्योगहरुको अनुगमन गरी नमुना संकलन गरेको छ ।
मोरङको बाग्मती आयल, बाबा आयल, स्वस्तिक आयल र सुनसरीको जेके आयल र पशुपति खाद्य तेल उद्योगबाट नमुना संकलन गरेको छ । यसरी संकलित नमुनामा मिसावट वा कैफियत गरेको पाइए सम्बन्धित उद्योगहरुलाई नयाँ मुलुकी ऐन अनुसार कानुनी कारवाही गरिने मंत्रालयका उपसचिव सन्तोष विष्टले जानकारी दिए ।
अनुगमन टोलीमा गुणस्तर तथा नापतौल विभागको महानिर्देशक विश्वबाबु पुडासैनी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक र विराटनगर स्थित नापतौल कार्यालयका कर्मचारीहरु सहभागि छन् । संकलित नमुनाहरु विराटनगर र काठमाण्डौ दुई ठाँउमा परीक्षण गरिने बताइएको छ ।