५ असार, काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् ।
प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् ।
जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराटनगरको विराट अस्पतालमा भर्ना गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको आयव्ययबारे चासो राख्दा प्रधानाध्यापक लक्ष्मीले कुटपिट गरेको शिक्षक कार्कीले बताइन् ।
व्यवस्थापन समितिमा गोमा शिक्षक प्रतिनिधि हुन् ।
व्यवस्थापन समितिको बैठक विद्यालयमा नबस्ने र बैठकबारे जानकारी नै नगराउने गरेको गोमाको भनाइ छ ।
विद्यालयमा २७ लाख रुपैयाँ बराबरको भवन, १७ लाख रुपैयाँ बराबरको शौचालय बनिरहेको र मसलन्द खर्च, पालिकाले दिने खर्च पनि पारदर्शी नभएकोले पारदर्शी बनाउन माग गर्दा कुटिएको गोमा बताउँछिन् ।
उनी भन्छिन् ‘म हिसाब माग्नुपर्ने ठाउँमा भएर नै माग गरेको हो । अहिलेसम्म विद्यालयको आयव्यय देखाइएको छैन । कता कता के खर्च भयो भन्दा तँलाई हर हिसाब देखाउँदिन भन्दै एक्कासी कुटपिट गर्न थाल्नुभयो ।’