विराटनगर,भदौ ५
कार्यस्थलमै शनिबार राति विराटनगरमा हत्या गरिएका मृतक परिवारले शवसहित विराटनगरमा प्रदर्शन गरेका छन । हत्यारालाई कारवाही र पीडित पक्षलाई राहतको माग गर्दै सोमबार उनीहरुले प्रदर्शन गरेका हुन् । विराटनगर ३ स्थित न्यु विक्की हार्डवेयरमा शंकास्पद अवस्थामा मृत भेटिएका विराटनगर ४ का टंक भट्टराईका परिवार सहित वडा नम्बर ३ का वडाबासीले हत्यारालाई कारवाही र राहतको माग गर्दै प्रर्दशन गरेका हुन् ।
घटनापछि धरानबाट पोस्टमार्टम गरी ल्याइएको भट्टराईको शवसहित उनीहरुले प्रदर्शन गरेका हुन् । पीडित पक्षको प्रदर्शनमा अखिल नेपाल सेक्युरीटि मजदुर संगठन मोरङले समेत ऐक्यबद्धता जनाएको छ । सो क्रममा पीडित पक्षले सोमबार दिउँसो शवसहित घटनास्थल विक्की हार्डवेयर पसल अगाडी शव राखेर केहिबेर प्रर्दशन गरेका थिए । मृतककी छोरी नविना भट्टराईले आफुहरुले न्याय नपाएसम्म शवको अन्त्येष्टि नगरी प्रदर्शन जारी राख्ने बताइन् ।
पसल अगाडि शव राखेर केहिबेर प्रदर्शन गरेका पीडित पक्षले केहिबेरपछि धरानरोडको मुख्य राजमार्गमा शव राखेर धर्नामा बसेका थिए । सो क्रममा उनिहरुले सवारीसधान आवागमनमा समेत रोक लगाउँदै पीडित पक्षलाई न्याय दिन माग गर्दै नाराबाजीसमेत गरे । पीडित पक्षले न्याय नपाएसम्म प्रर्दशन जारी रहने उनीहरुले प्रतिक्रिया दिएका थिए । सवारीसधन अवरोध गरिएपछि उत्तर–दक्षिण राजमार्गको निकै लामो दुरीसम्म सवारीसाधनको जाम लागेको थियो ।
प्रदर्शनका कारण तनाव उत्पन्न हुनसक्ने आशंकामा ब्यापक प्रहरी परिचालन गरिएको थियो । झण्डै एकघण्टा बढीको प्रयासपछि प्रहरीले प्रर्दशनकारीलाई छेकबार लगाउँदै सडकमा राखिएको शव कब्जामा लिएको थियो । प्रहरीले सडकमा राखिएको शव सडक किनारमा पार्किंग गरिराखिएको शवबाहनमा राखेर पछि प्रदर्शनकारीलाई राजमार्गबाट छेउ लगाएर सवारीसधानको आवागमन सुचारु गरेको थियो ।
सडकबाट उठाएको शवपछि प्रहरीले मृतकका आफ्न्तलाई नै जिम्मा लगाएको थियो । यसैबीच मृतक भट्टराईको शव जिम्मा लिएका आफन्तले सोमबारै साँझ उनको अन्त्येष्टि गरेका छन् । शवको अन्त्येष्टि गरिए पनि न्याय नपाएसम्म प्रर्दशन जारी रहने उनीहरुले जनाएका छन् ।