११ साउन, एजेन्सी ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोको पूर्वी सहर गोमामा देशमा रहेको राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ । करिब ५० जना घाइते भएका छन् ।
एक दर्जन प्रदर्शनकारी मारिएको अपुष्ट विवरणहरु पनि आएका छन् । प्रदर्शनकारीको आक्रमणमा परि संयुक्त राष्ट्र शान्ति मिसनमा सहभागी दुई भारतीय सीमा सुरक्षा बल बिएसएफका जवानको पनि ज्यान गएको छ । उनीहरु मंगलबार हिंसात्मक प्रदर्शनका क्रममा मारिएका बलका प्रवक्ताले पुष्टि गरेका छन् ।
यता भारतीय विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घले पनि डीआर कङ्गोमा चर्किएको द्वन्द्वका कारण तीन शान्ति सैनिकले ज्यान गुमाएका र अन्य केही घाइते भएको पुष्टि गरेको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका उप प्रवक्ता फरहान हकका अनुसार बुटेम्बो बेसमा हिंस्रक आक्रमणकारीहरूले कङ्गोली प्रहरीबाट हतियार खोसेर कर्मचारीहरूमाथि गोली प्रहार गरे, जसमा दुई बीएसएफ जवान र तीन अन्य संयुक्त राष्ट्र मिशनका कर्मचारीहरू मारिए ।
डीआरसीको बुटेम्बोमा भएको दंगामा अर्का एक शान्ति सैनिकको पनि मृत्यु भएको तर उनको राष्ट्रियता भने खुलाइएको छैन । हकले भने कि भीडले संयुक्त राष्ट्र संघका सेनाविरुद्ध ढुङ्गा र पेट्रोल बम हानेर पूर्वी डीआरसीमा लुटपाट गरी आगो लगाए। डीआरसी मिसनमा भारतका १३९ प्रहरी र १,८८८ सैन्य कर्मचारी समावेश रहेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् । कंगोमा नेपाली शान्ति सेना पनि छन् ।
नेपाली सेनाले भने त्यहाँ परिचालित नेपाली सैनिकहरू सुरक्षित रहेको जनाएको छ । नेपाली सेनाका प्रवक्ताले द्वन्द्व चर्किएको क्षेत्रमा नेपाली शान्ति सैनिकहरूको ठूलो टोली नरहेको र त्यहाँ खटिएका स्टाफ अधिकृतहरूलाई सुरक्षित स्थानमा लगिएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कङ्गोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराएका छन् ।
संयुक्त राष्ट्रसङ्घको शान्ति मिशन मोनुस्कोले हिंसा र राष्ट्रसङ्घका सम्पत्ति लुटपाट भएका घटनामा प्रदर्शनकारीको भेषमा आएका अपराधीहरू संलग्न रहेको आरोप लगाएको छ । उसका अनुसार उनीहरूले कङ्गोका प्रहरीको हतियार खोसेर गोली चलाएका थिए । खनिज पदार्थमा धनी डीआर कङ्गोको पूर्वी भागमा दशकौँदेखि सशस्त्र समूहहरू सक्रिय छन् । तिनले गर्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्न विफल भएको भन्दै डीआर कङ्गोमा मोनुस्कोप्रति आक्रोश व्यक्त हुँदै आएको छ ।