१६ साउन, कास्की । पोखरामा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ ।
लगातारको ठूलो वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुबान भएको छ । पोखरा महानगरपालिका–१३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।
उनले गएराति १० बजेदेखि घरहरु डुबानमा पर्न थालेको र आफू रातभर डुबान क्षेत्रमा नै रहेको जानकारी दिए । ‘वर्षाको भलले निकास नपाउँदा डुबान भएको हो,’ वडा अध्यक्ष बरालले भने ।
यस्तै, पोखरा २९ सैनिक बस्तीमा पनि सडकमै खोला बगेको छ । सबैतिरबाट एकै ठाउँमा भल आएपछि डुबान भएको स्थानीय बासिन्दाले बताए ।
पोखरा–२१ को नाउडीमा पहिरो गइ सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा कलेज जाने विद्यार्थी, दूध किसान, कुखुरापालक किसान बढी मर्कामा परेका छन् ।
पोखरामा पछिल्लो २४ घण्टामा २ सय ४९ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी पोखराको लामापाटनमा रहेको स्टेसनमा ३ सय ३३ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ ।