२९ भदौ , एजेन्सी ।
परराष्ट्र सचिवस्तरीय दुईपक्षीय वार्ताका लागि दिल्ली गएको नेपाली टोलीले मंगलबार भारतीय टोलीसंग भेटवार्ता गरको छ । मंगलबार भारतको औपचारिक भ्रमणमा गएका परराष्ट्रसचिव भरतराज पौड्याललाई भारतीय समकक्षी विनयमोहन क्वात्राले हैदरावाद हाउसमा स्वागत गरेका थिए ।
हैदरावाद हाउसमा परराष्ट्र सचिवहरुबीच बेग्लै र प्रतिनिधिमण्डलस्तरीय बेग्लै छलफल भएको थियो । नेपाल र भारतका परराष्ट्र सचिवहरूबीच दिल्लीमा भएको वार्तामा सीमा विषय, कनेक्टिभिटी, पूर्वाधार विकास, विद्युत् सहकार्यलगायत दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमाका विषय स्थापित संयन्त्रबाट टुंग्याउने विषयमा पनि छलफल भएको छ । स्थापित संयन्त्र भनेको परराष्ट्रसचिवस्तरीय संयन्त्र हो ।
‘उहाँ (सचिव)हरूबीच सीमा विषयमा पनि छलफल भयो । यस सम्बन्धमा उहाँहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सिमानाका बाँकी काम पूरा गर्ने विषयमा विचार आदान–प्रदान गर्नुभयो,’ नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली राजदूतावासद्वारा मंगलबार मध्यराति जारी विज्ञप्तिमा भने कालापानी–लिपुलेक र सुस्ता उल्लेख छैन ।
यस सन्दर्भमा सुस्ता र कालापानीबाहेकका बाँकी खण्डमा सीमांकनको कार्य स्थापित द्विपक्षीय संयन्त्रबाट टुंग्याउनुपर्ने विषयमा छलफल भएको छ,’ दिल्लीस्थित नेपाली राजदूतावासको विज्ञप्तिमा उल्लेख छ । यस्तै नेपाल र भारतका परराष्ट्र सचिवबीचबीच पारवहन सन्धि र त्यसको प्रोटोकललाई चाँडै टुंग्याउनेबारे छलफल भएको छ ।
त्यसैगरी व्यापार सन्धिलाई नवीकरण गर्न आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पनि दुई परराष्ट्र सचिवबीच छलफल भएको छ । आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौमा नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक बस्दै छ। यदि भारतीय पक्ष सहमत भएमा उक्त बैठकमा पारवहन सन्धि र त्यसको प्रोटोकल टुंगिने सम्भावना रहेको सरकारी अधिकारीहरुले बताएका छन् । वाणिज्य सचिवस्तरीय बैठकअघि सहसचिवस्तरीय बैठक बस्नेछ ।
परराष्ट्रसचिव पौड्यालले मल आपूर्ति हुनुपर्ने तथा चामल, धान, चिनी र गहुँ नेपाल निर्यातमा लागेको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए । औपचारिक वार्तामा दुई देशका व्यापारिक सहयोगका विविध क्षेत्रमा छलफल भएको थियो । पारवहन, जडान, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनस्तरको सम्बन्धबारे विस्तारमा छलफल भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण (अप्रिल २०२२) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण (मे २०२२) मा घोषणा गरिएका परियोजना र उनीहरूको पहलहरूमा भएका द्विपक्षीय सम्बन्धको प्रगति पुनरावलोकन गरेका थिए । नेपालबाट भारतमा विद्युत् निकासीलगायत ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगमा भएको पछिल्लो प्रगतिको सराहना भएको थियो ।