३० भदौ, काठमाडौं ।
काठमाडौंमा विद्यमान कानून कार्यान्वयनमा कडाईका साथ प्रस्तुत हुँदै आएको बालेन्द्र साह बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सूचना जारी गरी असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान प्रतिबन्ध लगाउने भएको हो ।
सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन महानगरपालिकाले सबैसँग आग्रह पनि गरेको छ । सूचनाबमोजिम नियम पालना नगर्नेलाई कारबाही र जरिवाना तिराइने महानगरपालिकाले जनाएको छ । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सूर्ती खान निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ ।
तर ऐन लागू भएको वर्षाै वितेपनि अहिलेसम्म यसको पूर्णकार्यान्वयन हुन् सकेको थिएन । महानगरले पछिल्लो समय नक्सा वमोजिमका वाहेक अनाधिकृत संरचना खाली गराउँदै आएको छ भने महानगर क्षेत्र भित्रका फुटपाथका पसलसमेत हटाउने अभियान जारी राखेको छ । महानगरको यो निर्णयको भने साना व्यवसायीहरुले विरोध गर्दै आएका छन् । व्यापारिक प्रयोजनका लागि महत्वपूर्ण चाडबाडको समयमा महानगरले गरि खान नदिएको साना व्यवसायीको आरोप रहेको छ ।