२८ असोज,एजेन्सी ।
विश्वभर तहल्का मच्चाएको कोभिड १९ कोरोना भाइरसको संक्रमण यसको उद्गम स्थल मानिएको चीनमा फेरि फैलिएको छ । चीनको व्यापारिक केन्द्र सांघाईमा कोरोनाका बिरामी बढेसँगै स्कुल , कलेज , शपिङ मल लगायतका ठाउँहरु बन्द गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार सांघाईमा गत बुधबार मात्र कोरोनाका ४७ जना नयाँ बिरामी थपिएका छन् । जुन पछिल्लो तिन महिना यताकै सबै भन्दा बढी रहेको जनाइएको छ । संक्रमित मध्ये दुई जना बाहेकलाई हाल क्वारेनटाइनमा राखिएको छ । कोरोनामा बढोत्तरी देखिएसँगै कम्युनिटी ट्रान्समिसनले सांघाईका १६ मध्ये पाँच जिल्लाहरुमा लकडाउनको घोषणा गरेको हो ।
हाल लकडाउन घोषणा गरिएका जिल्ला मध्य सांघाईको पुडोग जिल्ला पनि समावेश छ , यही जिल्लामा सर्वप्रथम कोरोना संक्रमणको सुरुवात भएको थियो । चीनले कोभिडविरुद्ध शुन्य नीति लिएका कारण उसले सानो संख्यामा संक्रमण फैलिएपनि अत्यन्त कडाईका साथ त्यसलाई निर्मूल पार्ने प्रयास गर्दै आएको छ ।
विश्वका अधिकांस देशहरु हाल कोरोना महामारीको संक्रमणका कारण जारी बन्दाबन्दीलाई हटाउँदै गइरहेको अवस्थामा चीन भने हालसम्म कोरोना महामारीको चपेटा उन्मुक्त हुन सकिरहेको अवस्था छैन । चीनले अझै पनि ‘शुन्य कोभिड नीति’ लाई कडाईका साथ लागू गर्दै आएको अवस्था छ ।
गत सोमबाटदेखि उत्तरी चीनको फेनयाङ सहरमा पनि लकडाउनको घोषणा गरिएको थियो । यस्तै अर्को सहर होहोटमा कोरोनाका कारण बाहिरबाट आउने मानिस र सवारी साधनलाई रोक लगाइएको छ । यति मात्र नभएर चीनमा पार्क, अफिस, पसल र सार्वजनिक स्थानमा प्रवेश गर्दा ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट देखाउनु अनिवार्य गरिएको छ ।
वल्डोमिटरका अनुशार चीनमा अहिले ४ हजार ४ सय ५६ जना सक्रिय संक्रमित छन् भने कोरोनाबाट ५ हजार २ सय २६ जनाको मृत्यु भईसकेको छ । विश्वभर भने अहिलेसम्म ६२ करोड ८९ लाख भन्दा बढी कोरोनाबाट संक्रमित भईसकेका छन् भने ६५ लाख ६८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।