१८ कात्तिक, काठमाण्डौ ।
‘कुमारी आमा’ निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको पुष्टि गरेका छन् ।
निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको आरोप लगाउँदै न्यायका लागि संघर्ष गर्दै आएकी छिन् । उनको माग अनुसार दुई महिनाअघि बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको थियो । उक्त टेस्टको रिपोर्ट आइसके पनि सार्वजनिक गरिएको छैन ।
यसको पुष्टि उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले पनि गरेका छन् । उनका अनुसार निहारिकाका छोराको डीएनए आरोपी शिवराजसँग मिलेको हो। लतिलपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको रजिष्टार अधिकारीले बताए। उच्च अदालत, जनकपुरले निहारिकाका छोरा र शिवको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो।
निहारिकाले जन्म भएको बालकसँग शिवराजको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन्। उक्त माग राख्दै निरन्तर अनसन बसेपछि सरकारसँग तीन बुँदे सहमतिसमेत भएको थियो । अनसन तोड्ने, आरोपितसँग डीएनए परीक्षण गराउनेलगायत सहमति भएको थियो। उक्त सहमतिपछि आरोपित शविराजलाई पक्राउ गरेर प्रहरीले डीएनए परीक्षण गराएको थियो।
उनलाई धनुषाबाट काठमाडौं ल्याएर राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिइएको थियो। उक्त नमूना जाँच गर्दा शिवराज र निहारिकाको छोराको डीएनए मेल खाएको रिपोर्ट आएको रजिष्ट्रार अधिकारीले बताएका छन् ।
यस्तै सुरुआतबाट निहारिकाको मुद्दा हेर्दै आएकी अधिवक्ता रिङ्कु यादवले रिपोर्टमा बच्चा र शिवराजको डीएनए मिलेको बताएकी छिन् । उनले भनिन्, ‘बच्चाको डीएनए ९९.९९ प्रतिशत मिलेको छ । जैविक हिसाबमा शिवराज श्रेष्ठ नै त्यो बच्चाको बुबा हो भन्ने पुष्टि भयो ।’ निहारिकाको मुद्दा हाल उच्च अदालत जनकपुरमा विचाराधीन छ ।
अदालतको पेशीमा ढिलाइ गरिएको भन्दै निहारिकाले आज प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी थिइन् । । शिवराजले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप निहारिकाले लगाउँदै आएकी थिइन्। उनीहरूको यो मुद्दा धनुषा जिल्ला अदालतमा समेत चलेको थियो।
धनुषा अदालतले शिवराजलाई निर्दोष ठहर गर्दै बलात्कार नै नभएको फैसला गरेको थियो। राजीशुसीमै उनीहरूबीच यौन सम्पर्क भएकोले बलात्कार भन्न नमिल्ने अदालतको फैसला थियो। फैसलामा चित्त नुबझेपछि निहारिकाले उच्च अदालत, जनकपुरमा पुनरावेदन समेत गराएकी थिइन्।
त्यसपछि उनी अनसन बस्न काठमाडौंसम्म आएकी थिइन्। त्यसपछि जाँच भएको डीएनए शिवराज र बच्चासँग मेल खाएको हो। डीएनए मेल खाएमा शिवराजले बलात्कार ठहर गर्नुपर्ने निहारिकाको माग थियो। उता शिवराजले त्यतिबेला डीएनए मेल खाएमा निहारिकालाई श्रीमती र बच्चालाई छोराका रुपमा स्वीकार गर्न आफू तयार रहेको बताएका थिए।