२० कात्तिक, काठमाण्डौ ।
आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि दुई हप्ताको समय बाँकी रहदा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रम अझै सकिएको छैन् । अबको पाँच वर्ष समुन्नत र धनी नेपाल बनाउने खाका कोरेका शीर्ष ठूलाहरुको चुनावी वाचा आइसकेको अवस्थामा स्वतन्त्रहरुको केन्द्र बनेको ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टीले अनौठा र रोचक र अनौठा योजनासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
सो दलले स्र्वगको बाटो बनाउने देखि बलात्कारीलाई नपुंसक बनाउने चुनावी एजेण्डा बनाएको छ । सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ लाई ‘लौरो’ अभियानले आफ्नो प्रतिबद्धता पत्र ल्याएको हो। अभियानले अबको विकास दीर्घकालीन निकाससहित दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता गरेको छ।
यस्तै सात वटै प्रदेशमा ७ चक्र निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सरह र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरिएको छ। नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गरी विश्वबजारमा उत्कृष्ट पहिचान बनाउने घोषणा गरिएको छ ।
पार्टीले उत्पादनमा आन्तनिर्भर हुने र विदेशबाट नेपालमा आयात गरिने दाँत कोट्याउने सिन्का जस्ता नल्याउँदा पनि हुने सामानको आयात रोक्ने प्रतिबद्धता जनाएको छ । कैलाश पर्वतदेखि स्वर्गद्धारीसम्म जाने बाटो, स्वार्गद्धारीदेखि सगरमाथासम्म स्वर्गको बाटो र सगरमाथादेखि कञ्चनगंगासम्म स्वर्गपछिको बाटोमा केबलकार घोडा र पदमार्ग बनाउने उद्घोष गरिएको छ ।
यस्तै प्रदेश सरकार र प्रदेश संसद् १०८ जना प्रत्यक्ष निर्वाचनबाट व्यवस्था गर्ने, राष्ट्रपतिका लागि ४५ वर्ष हुनुपर्ने नियम २५ वर्ष झार्ने उल्लेख गरिएको छ ।यस्तै घोषणापत्रमा भ्रष्टाचारीलाई सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको व्यवस्था गर्ने, बलात्कारीलाई केमिकल प्रयोग गरी नपुंसक बनाउने कानून ल्याउने उल्लेख छ ।