२१ कात्तिक, काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित आज साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन । बुधबार राष्ट्रपतिले वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्ने पनि ढकालले बताएका छन् ।
सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए । सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो । जसलाई मन्त्रिपरिषदले त्यतिबेलै स्वीकृत गरेको थियो । उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन् । कोभिड–१९ संक्रमण आएपछि राष्ट्रपति भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।