काठमाडौं, भदौ १०
मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेलिरहेको हो । नेपालले कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेलीरहेको छ ।
खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेपछि शुरु भएको छ । नेपालले यसअघिका दुवै खेलमा जित हात पारेको थियो । आजको खेलमा पनि जित हात पार्दै नेपाली क्रिकेट टोली श्रीलंका भ्रमणलाई सफल बनाउन चहान्छ । कोल्टस् क्लबबाट कुशल परेरा, दिलरुवान परेरा जस्ता खेलाडीहरुले खेल्ने गर्दछन् ।
कोल्ट्ससँगको अन्तिम अभ्यास खेलपछि नेपाली टोली सोमबार मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।
नेपालले ओमानसँग २९ अगस्टमा बायुमास ओभलमा खेल्नेछ । त्यसपछि ३० अगस्टमा युएईसँग किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । १ सेप्टेम्बरमा मलेसिया, २ सेप्टेम्बरमा सिंगापुर तथा ४ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।
छनोटको विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप १३ सेम्टेम्बर देखि २८ तारिखसम्म हुदैछ ।