२ मंसिर, काठमाण्डौ ।
नेपाल र यूएईको एकदिवसीय खेलमा ’लाइभ बेटिङ’ गर्ने ४० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।
नेपाल र युएईबीच भइरहेको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । बेटिङमा संलग्न रहेको आशंकामा ४० जनाभन्दा बढीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको छ ।
कीर्तिपुर प्रहरी वृत्तमा राखेर स्क्रिनिङको काम भइरहेको सीआईबी स्रोतले बतायो । ‘ नियन्त्रणमा लिएका सबै जना संलग्न नहुन सक्छन्। त्यही छुट्याउने काम भइरहेको छ’ सीआईबीका एक उच्च अधिकारीले भने। पक्राउ परेकाहरुबाट मोबाइल र रकम बरामद गरेको छ ।
उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीले बताएका छन् । प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ ।
त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । १–१ को बराबरीमा रहेको शृखंला शुक्रबारको खेल जित्नेले जित्नेछ ।