२ मंसिर, एजेन्सी ।
नियमित कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को तयारीस्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । पोर्चुगलले नाइजेरियामाथि ४–० को फराकिलो जित निकालेको हो । लिस्वनमा बिहीबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा गोन्कालो रामोस र जाआओ मारियोले समान एक गोल गरे ।
खेलको नवौं मिनेटमा ब्रुनोको गोलबाट पोर्चुगलले अग्रता लियो । उनले डिएगो डालोटको पासमा गोल गर्न सफल भए । ३५औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ८२औं मिनेटमा परिवर्तित गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई सहज जितर्फ अघि बढाए ।
६६औं मिनेटमा आन्द्रे सिल्भाको स्थानमा मैदान छिरेका रामोसले राफयल गुरेइरोको पासमा गोल गर्न सफल भएका थिए । त्यसको २ मिनेटपछि अर्का परिवर्तित खेलाडी जोआओ मारियोले गोल गर्दै पोर्चुगललाई ४–० को शानदार जित दिलाए । दोस्रो हाफको शुरुमै बर्नाडो सिल्भाको स्थानमा मैदान छिरेका मारियोले रामोसको पासमा गोल गर्न सफल भएका थिए ।
अस्वस्थताका कारण रोनाल्डो नाइजेरियाविरुद्धको खेलमा टोलीमा थिएनन् । यस शानदार जितसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले विश्वकपको लागि आफू तयार रहेको संकेत दिएको छ । पोर्चुगलले २४ नोभेम्वरमा घानासँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । त्यसपछि २८ नोभेम्वरमा उरुग्वे र २ डिसेम्वरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
नाइजेरिया विश्वकपमा छनोट हुन असफल टोली हो । यस्तै फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई हराएको छ । बिहीबार राति भएको खेलमा स्पेनले जोर्डनलाई ३–१ गोल अन्तरले हराएको हो । खेलको १३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा गाभीले गोल गर्दा स्पेनको अग्रता २–० को बनायो ।
निको विलियम्सले ८४ औं मिनेटमा गोल गरेपछि स्पेनको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा जोर्डनका हाम्जा अल डारडौरले गोल गरेपनि स्पेन ३–१ ले विजयी भयो । विश्वकपमा स्पेन समूह ’ई’ मा रहेको छ । यस समूहमा जर्मनी, कोस्टारिका र जापान रहेको छ । स्पेनले नोभेम्बर २३ मा कोस्टारिकाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।