११ मंसिर, काठमाण्डौ ।
अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका विश्वभर भाइरल बनेका हिँउ चितुवाका तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ ।
फ्रान्सेली अल्पाइन म्यागजिनका विज्ञहरूले सो तस्बिर सम्पादित र विभिन्न तस्बिरहरूको मोन्टाज भएको भन्ने प्रमाण प्रस्तुत गर्दै आधारसहित नक्कली भएको दाबी गरिएपछि दूतावासले ती तस्बिर हटाउने भएको हो । अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो ।
जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो । अहिले आएर फ्रान्सेली म्यागाजिनका विज्ञहरूले तश्विर फेक भएको प्रमाण प्रस्तुत गरेपछि कित्तिया सामाजिक सञ्जालहरूबाट गायब भएकी छिन् ।
तर उनको वेबसाइटमा अझै पनि उनको यात्रा विवरण र तस्बिरहरू यथावत छन्, जहाँ उनले आफूले अमेरिकी दूतावाससँग काम गरेको दाबी पनि गरेकी छन् । ’हामी केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउँदैछौं,’ अमेरिकी दूतावासको पोस्टमा भनिएको छ, ’उनले दाबी गरेजस्तो हाम्रो उनीसँगकुनै साझेदारी छैन ।’
तथ्य जाँच लेखको बारेमा आफूले थाहा पाएको र फोटोग्राफरले आफ्नो सामाजिक सञ्जालहरू बन्द गरेपनि वेबसाइट अझै सञ्चालनमा रहेको पनि दूतावासले आफ्नो पोस्टमार्फत जानकारी गराएको छ ।
सामाजिक सञ्जालमा सेयर भएका पोस्टहरू नहटाउने र हटाउनुपर्ने भएमा जानकारी दिएर हटाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ ।यो सबै विवादका बीचमा फोटोग्राफर भनिएकी कित्तियाको तर्फबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।
ती तस्बिरहरू वास्तविक नभएको बाहिर आएपछि सामाजिक सञ्जालमा अमेरिकी दूतावासलाई मेन्सन गरेर प्रश्न सोध्ने र हाँसिमजाक गर्ने क्रम भने जारी रहेको छ । सगरमाथा क्षेत्रको भनिएका हिउँ चितुवाका यिनै तश्विरका कारण नेपाली फोटोग्राफरहरुको क्षमतामाथि समेत सामाजिक संजालमा प्रश्न उठाइएको थियो ।