३ पौष , एजेन्सी ।
छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशस्थित नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई चर्चित अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानीसहित पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली राहदानीसहित नक्कली १३ लाख अमेरिकी डलर र १० हजार ५०० पाउण्ड बरामद गरेको छ ।
उनीहरुले ऐश्वर्या रायको नक्कली राहदानी केका लागि प्रयोग गरे भन्ने बारे प्रहरीले सोधपुछ गरिरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । प्रहरीका अनुसार गिरोहका सदस्यहरूले कम्पनीका प्रतिनिधि भएको नाटक गरेर महँगो मूल्यमा जडीबुटी बेच्ने गरेका थिए । यो नाइजेरियाली गिरोहले लामो समयदेखि वैवाहिक साइट र डेटिङ एप्स मार्फत मानिसहरूलाई लक्षित गर्दै आएको थियो।
यसबाहेक अपराधीले सेनाका एक सेवानिवृत्त कर्णेलसँग पनि १ करोड ८१ लाख रुपैयाँ ठगी गरेका छन् । ती कर्णेलले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेर गिरोहको पर्दाफास गरेको थियो । प्रहरी अधिकारी अभिषेक वर्माले भारतीय मिडियालाई दिएको जानकारी अनुसार नाइजेरियाली अपराधीहरूले आफूलाई इके उफेरेमुक्वे, एडविन कोलिन्स र ओकोलोई डेमियनको रूपमा चिनाएका छन् ।
तीनै जनालाई ग्रेटर नोएडाबाट पक्राउ गरिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । डीसीपी अभिषेक वर्माका अनुसार अभियुक्तहरूको राहदानी २०१३ र २०१९ को बीचमा सकिएको छ। अभियुक्तहरु सबै अवैध रुपमा सहरमा बस्दै आएका थिए ।
आरोपितहरुले व्यापारको सिलसिलामा भारत आउने कुरा गरेको प्रहरीले जनाएको छ । भारतबाट कपडा किनेर आफ्नै देशमा बेच्ने गरेको प्रहरीले बताएको छ । डीसीपीका अनुसार धेरै पटक यस्ता ठगीहरूले जानाजानी आफ्नो राहदानी नक्कली राख्ने गर्दछन् ।