२६ पौष,काठमाण्डौ ।
गत मंसिरको चुनावमा नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् । बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताइएको छ ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक–पटक छलफल गर्दै आएका थिए ।
अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता÷कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ‚’ भूसालले प्रवेशका लागि तयार पारेको‚ ’कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ मा उल्लेख गरिएको छ । भुसालले नेकपा एसमा महासचिव मागेका छन् ।
तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ । भुसालले एमालेबाट आफूसँगै केही नेता कार्यकर्ता पनि लैजान पहल गरेका छन् । भुसालसँगै एमाले छाडेका योगेन्द्र शाही माओवादीबाट प्रदेश सभाको उम्मेदवार बनेर पराजित भएका थिए ।
एमालेमा घनश्यामलाई साथ दिएका धेरै नेताहरू अब उनीसँग नजाने भएका छन् । कतिपय छलफलमै छन् । टंक कार्की, उषाकिरण तिमल्सिना, अरविन्द सिंह, सुरेन्द्र मानन्धर, दीपक प्रकाश पाठक लगायतका नेतालाई भुसालको कदममा साथ दिने मानिए पनि कार्कीबाहेक अरूले एमाले नछाड्ने जानकारी गराएको बताइन्छ । भुसालनिकट केही युवा विद्यार्थी भने उनीसँगै नेकपा एसमा जानेछन् ।