Nepal Times
Nepal Times
72
Shares

धनकुटा महोत्सवमा प्रहरीको लाठीचार्ज

धनकुटा महोत्सवमा प्रहरीको लाठीचार्ज

१५ माघ, विराटनगर ।
धनकुटामा चलिरहेको पाँचौँ धनकुटा महोत्सवमा झडप हुँदा बालबालिका र महिलासहित केही दर्शक घाइते भएका छन् । गएराति भएको झडपमा घाइते भएकामध्ये २४ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

अरु केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् । घाइते पठाउने एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले घाइतेलाई अस्पताल पु¥याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताइन् । सुरक्षाकर्मी र मेला हेर्न आउने दर्शकबीच मेलामा प्रवेशको विषयलाई लिएर झडप भएको थियो ।

धनकुटा नगरपालिका–५ तल्लो टुँडिखेलमा भइरहेको महोत्सवमा दर्शक नअट्ने अवस्था आएपछि आयोजकले प्रवेशद्धार बन्द गर्न लगाएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । महोत्सवस्थलमा भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए ।

हिजो गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न दर्शकहरुको भीड उर्लिएको थियो । सोही क्रममा यो घटना भएको हो । यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.