७ फागुन, काठमाण्डौ ।
कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी आइतबार रिहा भएका हुन् ।
१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो । वि.स. २०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो ।
उनीसहित कैलाली कारागारबाट चार जना रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी हुन् । रिहा भएलगत्तै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् ।
पार्टीका अन्य नेता, कार्यकर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिएका थिए । जेलबाट रिहा भएपछि सांसद चौधरीले चुनाव जितेपछि रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजना सफल नभएको बताए ।
‘१८ दिन जेल बस्दा मैले धेरै कुरा सिकेको छु,’चौधरीले भने,‘भित्र कैदीबन्दीहरू कोचाकोच गरेर बस्नुपरेको छ । यसमा सुधार हुनुपर्छ।’ ‘म तीनचोटी चुनाव लडिसक्या छु । २०७४ को कानुनमा पनि लेखिसक्या छ । म त्यतिखेर पनि आफ्नो सफाइको लागि पेश गर्न सक्थें, उच्च अदालतमा पनि जान सक्थें । मैले त्यतिखेर मौकै पाएन । जानकारी नभएपछि मौका कसरी पाउन ?’ उनले भने ।
मेरो नाम फरार सूचीमा छ कि छैन भनेर सोध्दा जिल्ला प्रहरी कार्यालयले पनि छैन भनेको चौधरीले दाबी गरे । आममाफी दिएकामा राष्ट्रपति कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई उनले धन्यवाद पनि दिए । उनी गत वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।