२५ फागुन, काठमाण्डौ ।
राष्ट्रपति पदको निर्वाचनका लागि मतदान सकिएको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फका १९ मत खसेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्णय गरेरै मतदान नगर्दा १५ मत कम खस्यो । राप्रपाकी सहनाज रहमानको निधनका कारण थप एक मत घट्यो ।
यस्तै, नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका सांसद वर्षमान पुन कलेजोको रोगका कारण चीनमा उपचाररत छन् ।
यसबाहेक हत्या अभियोगमा प्रहरीको फरार अभियुक्त सूचीमा रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी अनुपस्थित भए । नेपाल प्रहरीको फरार अभियुक्त सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनमा अनुपस्थित भएका छन् ।
निर्वाचन आयोगले तयार पारेको मतदाता सूचीमा नाम रहेका कोइरी स्वास्थ्य अवस्था ठिक नभएको कारण मतदनमा उपस्थित नभएको एमाले सांसद महेश बर्तौलाले जानकारी दिए । उनीहरू सबैको गरी १९ मत नखस्दा राष्ट्रपति निर्वाचनमा एक हजार ५०१ मतभार घटेको छ ।
यस्तै, प्रदेशसभा सदस्यतर्फका ३२ मत कम खस्दा एक हजार ५३६ मतभार घटेको छ । प्रतिनिधिसभा सदस्यतर्फ १९ र प्रदेशसभा सदस्यतर्फका ३२ मत नखस्दा कुल तीन हजार ३७ मतभार घटेको छ । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान भएको हो ।
अब आजै मतगणना गरी आजै प्रमाणपत्र वितरण गर्ने निर्वाचन आयोगको तयारी छ । राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मगणनाका लागि प्रतिनिधि तोकिएका छन् । नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका रामचन्द्र पौडेलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रतिनिधि तोकिएका छन् ।
नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका सुवास नेम्वाङका तर्फबाट एमाले सांसद महेश वर्तौला प्रतिनिधि तोकिएका छन् । मत गणनाका क्रममा एक–एकजना मात्र प्रतिनिधि बस्ने सहमति निर्वाचन आयोगसँग भएको छ । मतगणनाका क्रममा स्वस्तिक छाप लगाएका मतपत्रलाई मात्र मन्यता दिने सहमति गरिएको छ ।
यस्तै, कोठाबाहिरको मतसंकेतलाई बदर मान्ने सहमति भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलगअलग गणना गरिनेछ । मतगणनास्थलमा उमेदवारका तर्फबाट एक÷एकजना मात्र प्रतिनिधि राख्ने सहमति पनि भएको छ । राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।