काठमाडौं,भदौ १६
मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो ।मलेसियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । नेपालले दिएको १ सय ८९ रनको लक्ष्य मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रनमात्र बनाउन सक्यो ।
बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । मध्यम शुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र मोहम्मद आरिफ शेखले सम्हालेका थिए । उनीहरुले छैटौ विकेटको लागि १ सय १ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ५४ रनमा आउट भए । आरिफ ६४ रनमा नटआउट रहे । ४८ बल खेलका आरिफले ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाए ।
बसन्त रेग्मी ६ रनमा नटआउट रहे । यसअघि सुवास खकुरेल ९ तथा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । अनिल कुमार साह १६ तथा र कप्तान पारस खड्का १३ रनमा आउट भए । मलेसियाका सर्भिन मुनियान्डी र सैजरुल इजादले समान ३ विकेट लिए । मोहम्मद अनवर रहमनले १ विकेट लिए ।
त्यस्तै मलेसियाका लागि मोहम्मद अनवरले ३४ रन बनाए । सैद अजिज मुवारक ले ३४ रन बनाए । अहमेद फैज नुरले २२ रन बनाए । भिरनदीपसिंह २१ रनमा आउट भए । मोहम्मद रम्लीले १३ रन बनाए । सरभिन मुनियान्डीले १० रन जोडे । नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ विकेट लिए । सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
छनोटको फाइनल जित्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ । नेपाल यसअघि ओमान र युएईंसँग पराजित भएको हो ।