११ चैत, काठमाण्डौ ।
नागरिकता विहिन संघर्ष समितिले मेचीदेखि महाकाली यात्रा सुरु गरेको छ । चैत्र १० गते झापाबाट यात्रा आरम्भ गरेको यो समिति शनिबार विराटनगर आइपुगेको छ । यहाँ आएर उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शनसमेत गरेका छन् ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने र आमाको नाममा नागरिकता दिनुपर्ने मागसहित समितिले यात्रा सुरु गरेको हो । नागरिकता नहुँदा उच्चशिक्षा अध्ययन, रोजगारी, विदेश जान, बैंक खाता खोल्न, सिम कार्डसमेत प्रयोग गर्न नपाउँदा धेरै कष्ट भोग्नुपरेको समितिका अध्यक्ष इन्द्रजीत साफीले बताएका छन् । लाखौँ युवाहरुको भविष्यँग सरकारले खेलवाड गरिरहेको आरोप उनको छ ।
संसदबाट नागरिकता विधेयक पास गरेर आफू जस्ता लाखौं युवाहरुलाई न्याय गर्न पनि उनले माग गरे । विगत २ वर्षदेखि यो समितिले नागरिकताका प्राप्तीकालागि र संसदमा राजनीतिक खिचातानीको विषय बनेको नागरिकता विधेयक पास गर्नका लागि सरकारलाई दबावस्वरुप चरणबद्ध आन्दोलन, सरोकारवालालाई ज्ञापन पत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै आएको छ ।
यस्तै यो समितिले न्यायलयलाई पनि गुहार्ने जनाएको छ । त्यसका लागि मेचीमहाकाली यात्रा गरेर नागरिकता विहिनहरुबाट आवस्यक कागजात संकलन गर्ने र सर्वोच्च अदालतमा एकै पल्ट मुद्दा हाल्ने योजना रहेको साफीले जनाएका छन् ।