१६ चैत, काठमाण्डौ ।
नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन र नयाँ मन्त्रीहरूको नाम तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बसको थियो ।
कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ–१ का लागि तयारी गर्न भट्टराईलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिएका थिए । उनी कांग्रेसभित्र अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । भट्टराईले अहिलेसम्म संसदी निर्वाचन लड्ने अवसर पाएका छैनन् ।
भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नवौँ अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए । यता चितवन–२ मा भने जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । उनी चितवनका जिल्ला अध्यक्ष हुन् ।
आफूलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र त्यहाँबाट आफू निर्वाचित हुने समेत श्रेष्ठले बताएका छन् । यसअघि चितवन २ मा तत्कालिन सत्ता गठबन्धनको उम्मेदवारका रुपमा काँग्रेसका उमेश श्रेष्ठ उठेका थिए । उनी रास्वपा सभापति रवि लामिछानेसंग पराजित भएका थिए ।
यस्तै बारा क्षेत्र नम्बर २ मा भने काँग्रेसले जसपालाई सघाउने निर्णय गरेको छ । यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारी गर्दैछन् । यद्यपी अहिलेसम्म जसपाले आधिकारिक उम्मेदवार घोषणा भने गरेको छै्रन । तर मंसिरमा राम्रो मतका साथ चुनाव जितेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएर उपेन्द्रले संसदमा पुनः इन्ट्रिका लागि सुरक्षित क्षेत्रका रुपमा बारा २ लाई रोजेका हुन् ।
यद्यपी यहाँ पनि उपेन्द्रलाई हराएरै छाड्ने जनमतका अध्यक्ष सिके राउतले दाबी गरेका छन् । यहाँ जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने भएका छन् । बारा २ मा उपेन्द्रलाई लोसपाका नेता राजेन्द्र महतोले पनि चुनौती दिने भएका छन् ।
बिहीबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ को उपनिर्वाचनमा महतोलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो । यसैबीच नेपाली कांग्रेसको कार्यसम्पादन समितिले मन्त्रिपरिषद् विस्तारका लागि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।