१९ चैत, एजेन्सी ।
युरोपेली आयोग (ईयु)की अध्यक्ष उर्सुला भोन डर लेयनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को महासचिव अथवा प्रमुख पदका लागि दाबेदारी गरेकी छन् । नेटोका वर्तमान महासचिव जेन्स स्टोल्टेनबर्गको कार्यकाल आउँदो सेप्टेम्बर ३० मा सकिँदै छ । तीन पटक गरी करिब ९ वर्षसम्म पदमा रहेका स्टोल्टेनबर्गपछि यो पद सम्हाल्न युरोपेली युनियन(ईयु)की प्रमुख उर्सुला भोन डर लेयन पनि उत्सुक भएकी हुन् ।
नेटोको प्रमुखका लागि कुनै औपचारिक निर्वाचन हुँदैन । ३० सदस्यीय गठबन्धनले सहमतिबाट नयाँ लिडर चयन गर्नेछन् । तर, बेलायती सञ्चार माध्यमका अनुसार ऋषि सुनकको सरकारले उनको नेतृत्वविरुद्ध भिटो गर्नसक्ने बताइएको छ । जर्मन सशस्त्र बलको इन्चार्जको रूपमा उनको कमजोर भूमिकालाई लिएर बेलायतले विरोधी कदम चाल्नसक्ने भएको हो ।
ईयुकै नेतृत्वमा रहँदाको भूमिका कोभिड–१९को महामारीका बेला अर्बाैं डलरको खोपसम्झौता प्रकरण र अन्य विभिन्न काण्डमा मुछिएकी उर्सुलाको नेटोको लिडरको रुपमा लिने भूमिकामाथि भने प्रश्न उठ्ने देखिन्छ । यसैबीच, इस्टोनियाकी प्रधानमन्त्री काजा कालास र क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्ड पनि नेटोको प्रमुख पदको दौडमा रहने बताइएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन नेटो एक रक्षा गठबन्धन हो। यो वर्ष १९४९ मा गठन भएको थियो।
यो संगठनमा अमेरिका, बेलायत, क्यानडा र फ्रान्स जस्ता देशहरू सामेल छन्। यदि कसैले यस संगठनका देशहरूमा आक्रमण गरेमा सबै सदस्य राष्ट्रहरूले एकअर्कालाई सहयोग गर्नेछन् र विरोधी देशलाई मिलेर आक्रमण गर्नेछन्। युरोपलाई रुसबाट जोगाउन नेटोको सुरुवात भएको थियो र आज नेटोमा जम्मा ३० सदस्य राष्ट्र छन् । जुन अब फिन्ल्याण्ड समेत आबद्ध भएपछि बढेर ३१ पुग्नेछ ।