२१ जेठ, एजेन्सी ।
मार्क जुकरबर्गले सामाजिक सञ्जाल एप ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेका छन् । फेसबुक र इन्स्टाग्रामको कर्पोरेट कार्यालय मेटाले इन्स्टाग्राममा तस्बिर र भिडिओमा नयाँ फिचरहरूमा काम गर्दै ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेको हो ।
ट्विटरको अवधारणा जस्तै छुट्टै ’टेक्स्ट’ सम्बन्धित एप ल्याउने तयारी मेटाले गरेको हो । मिडिया रिपोर्टका अनुसार उक्त एपमा ५ सय शब्दसम्म लेख्न सकिनेछ । नयाँ एपको नाम घोषणा भएको छैन । तर हेबरमेनको एक रिपोर्टले उक्त परियोजनाको आन्तरिक कोड नेमलाई ’पी९२’ नाम दिएको छ ।
नयाँ एप निर्माण प्रोजेक्ट–९२ र बार्सिलोना परियोजना अन्तर्गत भइरहेको छ । एपमा लिंक, तस्बिर र भिडिओ पनि शेयर गर्नुका साथै अडिओ र भिडिओ संवाद पनि गर्न सकिनेछ । ट्विटरमा रिट्विट, रिप्लाई, डीएम र लाइक नाम दिइएकोमा त्यस्तो सुविधा प्रयोग गर्दा यस एपमा फेसबुकमा जस्तै लाइक, कमेन्ट, मेसेजजस्ता नाम देखिनेछन् ।
प्रयोगकर्ताले उक्त एपसँग इन्स्टाग्राम आईडी पनि लिंक गर्न सक्ने र अकाउन्टमा बायो पनि राख्न सक्ने बताइएको छ । फेसबुक, इन्स्टाग्राम र ट्विटर जस्ता एपमा झै यो एपमा पनि ’भेरिफिकेसन’को सुविधा पनि रहनेछ । यसको प्रतिस्पर्धा एलन मस्कको ट्विटरसँग हुने बताइएको छ ।
ट्विटरको स्वामित्व मस्कको नेतृत्वमा आएपछि उनले गरिरहेका विभिन्न प्रयोगले प्रयोगकर्ताहरू असन्तुष्ट छन्। जसको फाइदा उठाउँदै प्रयोगकर्ता आफ्नो एपमा तान्ने योजना मेटाको छ ।
यद्यपि, हालसम्म सार्वजनिक भएका नयाँ फिचर अडियो र भिडिओ कलजस्ता विविध सुविधाहरू ट्विटर स्वयंले पनि थप्ने तयारी गरिरहेको छ । एप अहिले निर्माणको चरणमा रहेकाले कहिलेदेखि सार्वजनिक हुन्छ भन्ने तय भइसकेको छैन ।