२९ जेठ, एजेन्सी ।
चीनले धावा बोलेको खण्डमा त्यसको प्रतिरक्षा गर्न ताइवानले तयारी सुरु गरेको छ । यसका लागि ताइवानले आफ्नो सीमा क्षेत्रमा चिनियाँ सैन्य विमानको निगरानीका लागि लडाकु विमान र मिसाइल तैनाथ गरेको छ । आइतबार १० वटा चिनियाँ सैन्य विमानले सीमारेखा पार गरेपछि ताइवानले निगरानी थालेको हो ।
४ वटा चिनियाँ सैन्य जहाजले पनि सीमा क्षेत्रमा गस्ती गरिरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । एक सातायता दोस्रो पटक ताइवानले चिनियाँ सैन्य गतिविधिका बारेमा जानकारी दिएको हो । गत बिहीबार पनि ३७ वटा चिनियाँ सैन्य विमान सीमा क्षेत्रमा उडेको र तीमध्ये केही आफ्नो सीमाभित्र प्रवेश गरेको ताइवानले बताएको थियो ।
चीनले आफ्नो स्वशासित क्षेत्र मान्ने ताइवानको सीमा क्षेत्रमा तीन वर्षयता सैन्य विमानहरू उडाउँदै आएको छ । यद्यपि, ताइवानको सीमामा प्रवेश गरिनसकेको उसको दाबी छ । उता चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सीमा सेनालाई सीमा सुरक्षा र नियन्त्रणमा आफ्नो क्षमता अभिवृद्धि गरी देशको सिमानामा स्टील फोर्स बनाउन आह्वान गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र पिपुल्स लिबरेसन आर्मी (पीएलए) को शीर्ष कमाण्ड केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रमुख सीले सीमा व्यवस्थापन र नियन्त्रणको बारेमा जानकारी लिन भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भ्रमण गरेका छन् । आधिकारिक समाचार एजेन्सी ’सिन्ह्वा’का अनुशार चिनियाँ राष्ट्रपतिले सेनालाई सीमा रक्षामा नयाँ उदाहरण बन्न आग्रह गरेका छन्। उनले चिनियाँ सीमा सेनालाई सीमा रक्षा र नियन्त्रणमा आफ्नो क्षमता अभिवृद्धि गरी देशको सिमानामा स्टील बल बन्न आह्वान गरेका हुन् ।
सन् २०१२ मा सत्तामा आएदेखि चीनले सीमा सुरक्षा कार्यमा गरेको प्रगतिको प्रशंसा गर्दै सीले आफ्नो देशको सीमा सेनाले सैन्य तालिम र लडाई तयारीमा बृद्धि गरेको र सीमा क्षेत्रमा सीमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले सेनाले चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको प्रभावकारी संरक्षण गरेको बताएका छन् ।