७ असार, एजेन्सी ।
चीनको एक रेस्टुरेन्टमा ग्यास चुहावटका कारण भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटना चीनको उत्तरपश्चिमी सहर यिनचुआनको हो। पेट्रोलियम ग्याँस चुहावटका कारण विस्फोट भएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।
यिनचुआनको आवासीय क्षेत्रमा रहेको फुयाङ बारबेक्यू रेस्टुरेन्टमा बुधबार राति करिब ९ बजे विष्फोट भएको हो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार विष्फोटबाट रेष्टुरेन्टमा नराम्ररी क्षति पुगेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेका थिए र त्यसलगत्तै क्षेत्रमा बाक्लो कालो धुवाँ फैलिएको थियो ।
यससँगै खाना पकाउने ग्यासको गन्ध चारैतिर फैलिएको छ । चेन नामकी एक प्रत्यक्षदर्शीले आफ्नो अनुभव सुनाउँदै विस्फोट हुँदा उनी ५० मिटर टाढा रहेको बताइन् । उनले दुई जना वेटरलाई भवनबाट बाहिर निस्किएको देखेकी थिइन । ती मध्ये एकजना तुरुन्तै भुइँमा खसेका थिए ।यिनचुआन चीनको नान्जिङ प्रान्तको राजधानी हो।
अहिले चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिवल चलिरहेको छ। यस्तो अवस्थामा ठूलो संख्यामा मानिसहरु बाहिर निस्कन्छन् र साथीहरुसँग पार्टी गर्छन् । घटनाको जानकारी पाएलगत्तै एक दर्जनभन्दा बढी दमकलको टोलीले घटनास्थलमा स्थिति नियन्त्रणमा लिएको थियो । विष्फोट भएको रेस्टुरेन्ट पूर्ण रुपमा ध्वस्त भएको छ ।
यस रेस्टुरेन्ट नजिकै अन्य धेरै रेष्टुरेन्टहरु रहेकाले आगो अन्य रेष्टुरेन्टहरुमा पनि फैलिने खतरा थियो तर समयमै आगो नियन्त्रणमा आएको थियो । घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुख ब्यक्त गर्दै सबै उद्योगमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् । चीनले हालैका महिनाहरूमा यस्तै अन्य घटनाहरू पनि देखेको छ।
मे दिवसको बिदामा पेट्रोकेमिकल प्लान्टमा विस्फोट हुँदा नौ जनाको ज्यान गएको थियो । जबकि हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । फेब्रुअरीमा पनि कोइला खानी भत्किँदा ५३ मङ्गोलियन खानी कामदारले ज्यान गुमाएका थिए। गत वर्ष नोभेम्बरमा पनि एउटा कम्पनीमा आगलागी हुँदा ३८ जनाको ज्यान गएको थियो ।