२१ असार,विराटनगर ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको महिला पत्रकार प्रोत्साहन पुरस्कार यस वर्ष नेपाल टाइम्सकी समाचार संयोजक रन्जिता पोखरेललाई प्रदान गर्ने भएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको स्थापना दिवसको अवसर पारेर एक दशकदेखि सक्रिय पत्रकार पोखरेल २०८० सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी हुन् ।
यो पत्रकारिता पुरस्कार कोशी प्रदेशमा कार्यरत महिला पत्रकारलाई मात्रै प्रदान गरिदै आएको छ । यस्तै सञ्चार सहकारीले अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रङ्गेली सम्बाददाता नवराज कट्टेल र मकालु टेलिभिजनका सह सम्पादक सन्तोष सिग्देललाई पनि सम्मानित एवम् पुरस्कृत गर्ने भएको छ ।
प्रधान तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा यो पुरस्कार राखेका हुन् । यस्तै कट्टेल २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन् ।
समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा यो पुरस्कार राखेका हुन् । यसैगरी २०७९ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट पत्रकार सिग्देल सम्मानित हुने भएका हुन् ।
मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित पुरस्कार हो । पुरस्कार संस्थाको एघारौं स्थापना दिवसको अवसरमा २०८०असार २७ गते प्रदान गरिने संस्थाका सचिव बिजय खतिवडाले जानकारी दिएका छन् ।