२३ असार, काठमाण्डौ ।
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । श्रीलंकामा अर्को हप्तादेखि शुरु हुने इमर्जिङ कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।
नेपालको टोलीमा देव खनालदेखि स्पिनर सूर्य तामाङसम्मका युवा खेलाडीले पूनरागमन गरेका छन् । टिमबाट करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल भने बाहिरिएका छन् । यस्तै कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो टिममै छन् ।
ज्ञानेन्द्र मल्ल र करण केसीलाई विश्राम दिइएको हो । सन्दीप र दीपेन्द्र भने जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–२० क्यानडामा आबद्ध भएका छन् । लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् । प्रतियोगितामा एसियाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ‘ए’ टिम तथा अरु तीन टोलीले सहभागिता जनाउँदै छन् ।
यो प्रतियोगिता १३ जुलाईदेखि २३ जुलाईसम्म हुनेछ । इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, यूएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन् । नेपालले जुलाई १४ मा पाकिस्तान, जुलाई १७ मा भारत र जुलाई १९ मा यूएईसँग खेल्नेछ ।