२४ असार, एजेन्सी ।
भारतमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप खेल्न जानका लागि पाकिस्तान सरकारले अर्को शर्त अघि सारेको छ । पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले एसिया कप क्रिकेटका लागि भारतीय टोली पाकिस्तान खेल्न नआए पाकिस्तानले पनि विश्वकपका लागि तटस्थ मैदानको माग गर्ने दाबी गरेका छन् ।
भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म एकदिवसीय विश्वकप आयोजना गर्दैछ । विश्वकपमा भारत र पाकिस्तानबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अक्टोबर १५ मा हुने तालिका रहेको छ ।
त्यसैगरी, एसिया कप पाकिस्तान र श्रीलंकामा अगस्ट ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म हुने तालिका रहेको छ । एसिया कपमा भारतले खेल्ने सबै खेल श्रीलंकामा खेलाइने तय भईसकेको छ । भारतले एसिया कपका लागि पाकिस्तानको भ्रमण नगर्ने भएपछि श्रीलंकालाई तटस्थ मैदानको रुपमा प्रयोग गर्ने सहमति भएको एसीसीले जनाएको छ ।
भारतकै कारण पाकिस्तानमा हुने खेल श्रीलंकामा सरेपछि पाकिस्तानी खेलकुद मन्त्री मजारीले एसिया कपका लागि भारतीय टिम पाकिस्तानको भ्रमण नगरे पाकिस्तानले पनि विश्वकपका लागि भारत नजाने तथा तटस्थ मैदानको माग गर्ने बताएको द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
पाक मन्त्रीको यो अडानमा पाकिस्तान क्रिकेट यथावत रहे नेपालले समेत खेल्ने तय भएको एसिया कपको अन्योलता फेरि बढेको छ । यसअघि पाकिस्तानकै प्रस्तावमा एसीसीले भारतका खेल श्रीलंकामा आयोजना गर्ने गरी समय तालिका सार्वजनिक गरेको थियो ।