Nepal Times
Nepal Times
3
Shares

सीतालाई लागेको विश्वमै जटिल र निको नहुने रोग के हो ? लक्षण कस्ता हुन्छन् ?

सीतालाई लागेको विश्वमै जटिल र निको नहुने रोग के हो ? लक्षण कस्ता हुन्छन् ?

२७ असार,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ। दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पु¥याएर उपचार गरिएको थियो। तर, विश्वका नाम चलेका अस्पतालमा उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएन।

नेपालका स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार यो एक मस्तिष्कमा लाग्ने रोग हो। जसलाई विश्वको चिकित्सा विज्ञानले पूर्ण रुपमा निको पार्ने उपाय अझै पत्ता लगाइसकेको छैन। मस्तिष्कका विभिन्न रोग तथा समस्याहरुमध्ये प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्दछ।

तर, पछिल्लो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै पिएसपीको समस्या भएका बिरामीसमेत आउन थालेका छन्। चिकित्सकका अनुसार सामान्यतय झट्ट हेर्दा पिएसपीको अधिकांश लक्षण मष्तिष्कको अर्को रोग पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो समस्या पार्किन्सभन्दा फरक हो।नेपालमा यस रोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन।

सामान्यतया यो रोग वृद्धावस्थामा लाग्ने गर्दछ। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आइ मानिसको मांसपेशीको चालमा अवरोध सिर्जना हुन्छ। मस्तिष्कका नसाहरु बिस्तारै मर्दै जाँदा उत्पन्न हुने समस्या नै पिएसपी हो। विशेषगरी यो रोग लागेपछि मानिसको शारीरिक सन्तुलन बिग्रन्छ, आँखाको दृष्टिमा असर गर्छ, बोली अस्पष्ट हुन्छ भने खानेकुरा निल्न समेत समस्या हुने गर्दछ ।

स्नायु रोग विशेषज्ञ डाक्टरहरुको विश्व संगठन ‘वर्ल्ड फेडेरेसन अफ न्युरोलोजी’का अनुसार पिएसपीको सुरुवाती अवस्थामा बिर्सन थाल्ने, सन्तुलन बिग्रने, अनावश्यक रुपमा लड्ने, विशेषगरी पछाडिपट्टि लड्ने लक्षण हुन्छ। यस्तै शरीर अररो भइ आँखा दृष्टिमा असर गर्छ। आँखाको नानी दायाँबायाँ मात्र सर्ने र हेर्न मिल्ने हुन्छ तर तल र माथि हेर्न सकिँदैन। चम्किलो उज्यालोमा हेर्न मन नलाग्ने हुन्छ।

तर, पार्किन्सन्समा तलमाथि पनि हेर्न सकिन्छ। पिएसपी र पार्किन्सस छुट्याउने सबैभन्दा मुख्य आधार आँखाको हेराइ पनि हो। तलमाथि हेर्न नसक्ने समस्या छ भने त्यो पिएसपी भनेर बुझ्न सकिन्छ। पिएसपीमा सुस्तपना आउने, काम्ने, शरीर कडा हुने र हिँडडुल गर्न समस्या पनि हुन्छ। शरीर हुत्तिएको जस्तो गरी हिँड्ने खालको लक्षण हुन्छ।

शरीर अरठ्ठो भएर आउने, घाँटीसमेत अररो हुने, बोली नबुझिने हुन्छ। हिँड्दा मान्छे ड्याङ्ग पछाडिपट्टि लड्ने गर्दछन्। केही मानिसहरुमा डिप्रेसन, उदासीपन, निराशासमेत पैदा हुन्छ। यो रोग पूर्ण रुपमा निको हुँदैन । यसका लागि औषधि नै प्रमुख उपचार भए पनि बिरामीको दैनिक भोजन पोषिलो एवम् सन्तुलित हुन नितान्त आवश्यक हुन्छ।

यसका साथै आवश्यकता अनुसार फिजियोथेरापीसमेत गर्नुपर्ने हुन्छ।पार्किन्सनमा औषधिले राम्रो काम गर्छ। विशेषगरी पार्किन्सन्सको औषधिले ८÷९ वर्षसम्म काम गर्छ, तर पिएसपीमा एक–दुई वर्षसम्म मात्र औषधिले काम गर्छ। पिएसपी भएका मानिसहरुको हेरचाह र आत्मबलका आधारमा बिरामीको आयु लम्बिने हुन्छ।

पिएसपी भएकालाई उचित हेरचाह नगर्ने हो भने लडेर टाउको तथा अन्य भागमा ठोक्किने खतरा भने अत्यधिक रहन्छ। खानेकुरा निल्न समस्या हुने हुँदा सर्केर ज्यान जाने खतरा पनि हुन्छ। त्यसकारण खाना खुवाँउदा विशेष ध्यान दिन आवश्यक हुन्छ। सुरुवाती लक्षणमा नै उचित उपचार गर्ने र हेरचाह राम्रो हुने हो भने बिरामीलाई लामो समयसम्म सहज वातावरणमा राख्न सकिने चिकित्सकहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.