आज चन्द्र ग्रहण कुन राशिलाई कस्तो छ ? के गर्ने ,के नगर्ने ?

२१ कात्तिक ७९, मंगलबार

२२ कात्तिक, काठमाण्डौ ।
आज कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । आजको ग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

Advertisement

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ।

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताएका छन् ।

Advertisement

बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ। बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ।

बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको खगोलशास्त्री सुवास गौतमले बताएका छन् । आज कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ।

Advertisement

बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताएका छन् । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता छ । तर विज्ञान भने यस्तो मान्यताभन्दा बाहिर छ ।

यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको थियो। यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ। औंशीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ। पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ।

गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top