नेपालमै पहिलो पटक केएमसीले ल्यायो ६ करोडको रोबोटिक माइक्रोस्कोप

नेपालमै पहिलो पटक केएमसीले ल्यायो ६ करोडको रोबोटिक माइक्रोस्कोप

२९ असार, काठमाण्डौ ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ ।

ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको केएमसीको न्यूरो बिभागका प्रमुख एवं बरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापाले बताएका छन् । डा.थापाका अनुशार अप्रेशनलाई सुरक्षित र भरपर्दो बनाउँन यो माइक्रोस्कोप निकै उपयोगी हुन्छ ।

सूक्ष्म एवं जटिल शल्यक्रियामा माइक्रोस्कोप प्रयोग गरिन्छ । जर्मनबाट छ करोडको लागतमा खरिद गरेर ल्याइएको यो माइक्रोस्कोपमा रोबोटिक सिस्टम, फोरके रेजुलेशनसहितका धेरै अत्याधुनिक फिचर छन् । रोबोटिक माइक्रोस्कोप भएकाले यसले चिकित्सकले बनाएको अप्रेसन योजनामा काम गर्छ । यसको सहायता लिएर अप्रेसन गर्दा डाक्टरलाई अप्रेसन गर्न सजिलो हुने, अप्रेसन छिटो हुने र बिरामीलाई पनि जोखिम कम हुने डा.थापाको भनाई छ ।

गत वर्षबाट ‘रोबोटिक सर्जरी’ थालेको केएमसीले एक महिना अघि नेपालमै पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सहितको थ्री टेस्ला एमआरआई पनि भित्र्याएको थियो ।टाउको नखोली सानो प्वाल बनाएर अप्रेसन गर्ने, दूरबिनको प्रयोगले ढाडको नशा च्यापिएको खोल्ने र चिप्लेको हाडलाई स्क्रुले आफ्नो ठाउँमा मिलाउँने, दूरबिनको प्रयोगले प्वालमार्फत टाउको भित्र जमेको रगत निकाल्ने जस्ता सेवा पनि प्रदान गर्दै आएको अस्पतालका जेनेरल मेनेजर नारायण दाहालले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.