दाँत कोट्याउने सिन्का आयातमै बाहिरियो करोडभन्दा बढी रकम

दाँत कोट्याउने सिन्का आयातमै बाहिरियो करोडभन्दा बढी रकम

१३ साउन, एजेन्सी ।
भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको छ ।

विभागका अनुसार गत आवमा एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको छ । त्यस्तै करिब एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आवमा दुई करोड पाँच लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ ।

विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोडभन्दा बढी रकम बाहिरिएको छ । गत आवमा रु एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र रु ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले रु ६७ लाख ४९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गत आवमा रु एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन्।

एक वर्षमा रु एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ । विभागका अनुसार गत आवमा १५ कारोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.