ढाका,भदौ २१
साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गर्दै नेपालले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ ।नेपालका लागि उच्च प्रदर्शन गरेका सुनिल बलले ४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका छन् ।
नियमित कप्तान विराज महर्जनसहित नवयुग श्रेष्ठ र भरत खवासलाई पहिलो रोजाइमा नराखेका बालगोपाल महर्जनको टोलीले पहिलो हाफबाट भुटानमाथि दबाब सृजना गरेको थियो । किरण चेमजोङको कप्तानीमा खेलेको नेलालका लागि अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो भने दोस्रो हाफमा ३ गोल थपेको थियो ।
दास्रो हाफमा सुनिल, भरत खवास र लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका नीराजन खड्काले गोल गरेका थिए ।२१ औं मिनेटमा अनन्तले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका दिए । सुनिलको कर्नरमा अनन्तले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए ।
दोस्रो गोल ७० औं मिनेटमा सुनिल आफैले गरे । परिवर्तित नीराजन खड्कालाई निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तिमगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यहि रिबाउन्डमा सुनिलले गोल गरेका थिए ।
राष्ट्रिय टोलीका लागि सुनिललको यो पहिलो ब्यक्तिगत गोल हो । आफ्नो तेस्रो खेलमा सुनिल गोल गर्न सफल भएका थिए । निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो ।नीराजनलाई फाउल गर्ने निमाले त्यसअघि पनि पहेलो कार्ड पाएका थिए ।
त्यस्तै व्यक्तिगत प्रदर्शनमा भरतले ७९ औं मिनेटमा गोल गरे । राष्ट्रिय टोलीबाट उनको त्यो १० औं गोल थियो । खेल सकिन २ मिनेट बाँकी रहँदा विशाल राईको ठाँउमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका नीराजनले हेड गोल गर्दै नेपालको जित सहज बनाए । सुनिलको कर्नरमा नीराजनले हेड गरेका थिए ।
आजै हुने अर्को खेलमा पहिलो खेल जितेका दुई टोली आयोजक बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको नतिजाले पनि नेपालको अघिल्लो चरणको यात्रामा प्रभाव पार्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ ।