२१ साउन, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले सेप्टेम्बरको तेस्रो÷चौथो साता प्रचण्डले चीनको भ्रमण गर्ने जानकारी दिएका हुन् । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भने, ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।’
उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारे । वर्तमान सरकार गठनपछि प्रधानमन्त्री प्रचण्डको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे । उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे।
परराष्ट्रमन्त्रीले विदेश नीतिका सम्बन्धमा सबै पार्टीबीच सहमति हुनुपर्ने धारणा राखेपनि हिजै मात्र नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकारले मनपरी अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने बताएका थिए ।उनले प्रचण्डले हालै गरेको भारत भ्रमण पनि उपलब्धिमुलक नभएको, जनता र देशहितमा नभएको आरोप लगाए ।
साथै सो भ्रमणमा प्रचण्डले आफूले सहमति गरेका कुराहरु पनि लुकाएको ओलीको दाबी छ । खासगरि प्रचण्डले दिल्ली दौडाहाका क्रममा ईपीजी प्रतिवेदनका विषयमा कुरा नउठाएको, सीमा अतिक्रमणको विषय नटुंग्याएको ओलीले कटाक्ष गरेका छन् ।
चीन र भारत सीमा जोडिएको छिमेकीसंग पनि खुलेर आफ्नो कुरा राख्न नसक्ने सरकारको हैसियतको कुनै अर्थ नहुने ओलीको तर्क छ । चीन भ्रमणका क्रममा नेपालले हस्ताक्षर गरिसकेको अीआरआई परियोजना कार्यान्वनयका विषयमा ठोस सहमति गर्ने चीनको तयारी छ ।