१३ भदौ, काठमाण्डौ ।
नेकपा एमालेका नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । आज विहान काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०१ को नाइनएन–एजेओ कलाइनको सो विमान जनकपुरस्थित विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।
सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सुरक्षित अवतरण गरेको छ । विमानमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाइएको हो । सो जहाजलाई भने टेक्निकल टिमले चेकजाँच गरिहेको बुद्ध एयरले जनाएको छ ।
विमानमा सिराहमा हुने एमाले सचिवालय बैठकका लागि एमाले नेताहरू त्यसतर्फ जाँदै थिए । सो विमानमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षहरू सुवास नेम्वाङ, बिष्णु पौडेल, अष्टशाक्य, उपमहासचिव बिष्णु रिमाल, नेता अमृत बोहरालगायत थिए । तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् ।
त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए । बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट जानेछन् । यसअघि गत जेठमा बुद्ध एयरको जहाजमा जनकपुरमा मुसा भेटिएको थियो । यस्तै पोखरामा पनि बुद्धको जहाजमा समस्या आएको थियो ।