३० भदौ, काठमाण्डौ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएको छ । शुक्रबार रातिबाट लागू हुनेगरी निगमले मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ ।
निर्णय अनुसार साविकको खुद्रा मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाइएको छ । समायोजित मूल्य अनुसार अब पहिलो बर्गमा पेट्रोल १८० रुपैयाँ ५० पैसा, दोस्रोमा १८२, तेस्रोमा १८३ रुपैयाँ कायम हुनेछ ।
यस्तै, डिजेल र मट्टीतेलमा पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा, दोस्रोमा १७२ र तस्रो बर्गमा १७३ रुपैयाँ कायम हुनेछ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८० र डिजेलको मूल्य १७० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ र डिजेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेलको मूल्य १७३ रुपैयाँ कायम भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ ।