२ असोज,एजेन्सी ।
अमेरिकामा करिब १० अर्ब नेपाली रुपैयाँ बराबरको बेपत्ता भएको एक अत्याधुनिक लडाकु विमानको भग्नावशेष भेटिएको छ । आइतबार अमेरिकाको दक्षिणी दक्षिण क्यारोलाइनामा उडान भरिरहेको बेला पाइलटले ‘इजेक्ट’ गरेपछि हराइरहेको एफ–३५ लडाकु विमानको भग्नावशेष फेला परेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् ।
१० करोड डलर पर्ने विमानको भग्नावशेष ग्रामीण विलियम्सबर्ग काउन्टीमा फेला परेको हो । विमानका पाइलट भने ककपिटबाट इजेक्ट गरेर प्यारासुटको मद्दतले उत्तरी चार्लेस्टनमा सुरक्षितरुपमा अवतरण गरेका थिए । उनलाई अस्पताल लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ । तर, विमान भने फेला नपरेपछि सेनाले सर्वसाधारणलाई समेत विमानको खोजी गर्नका लागि आग्रह गरेको थियो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूले चार्लेस्टनमा रहेको संयुक्त बेसभन्दा दुई घण्टा टाढा उत्तर–पूर्वमा विमानको भग्नावशेष फेला परेको बताएका छन् । मरिन कोर्प्सले दुर्घटना के कारणले भयो भन्ने विषयमा छानबिन भइरहेकाले थप बताउन नसक्ने जानकारी दिएको छ । पाइलटले विमान छाड्दा त्यो अटोपाइलटमा रहेका कारण विमानले केही समय आफै उडान भरेको थियो ।
यसले गर्दा विमानको खोजीमा समस्या देखिएको थियो । एफबी लाइटनिङ टू मरिन फाइटर विमान मरिन फ्याइटर अट्याक ट्रेनिङ स्क्वार्डन ५०१ सँग रहेको थियो । यसलाई पाइलटहरूलाई प्रशिक्षण गराउन प्रयोग गरिने अमेरिकी मिडियाहरूले जनाएका छन् । केही लडाकु विमानहरुमा खतराका बेला पाइलट बाहिर निस्किन सक्ने अथवा इजेक्ट हुन सक्ने विशेष सुविधा उपलब्ध छ ।
खतराका बेला इजेक्ट हुन चाहे ‘ठूलो बल’ले पाइलटलाई अगाडि फालिन्छ र प्यारासुटको मद्दतले अवतरण हुन्छ । यसैबीच अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् । ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटाविमान आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले बताएका हुन् ।
‘हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,’ रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ ।