४ असोज,काठमाण्डौ ।
काठमाडैंमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो । दशरथ रंगशालामा भएको पहिलो खेलमा भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् ।
भारतले खेलको पहिलो मिनेट मै अग्रता लिएको थियो । गुग्मसार गोयारीले दाया फ्ल्यान्कबाट आएको क्रसलाई नियन्त्रणमा लिएर सहजै गोल गरेका थिए । पहिलो मिनेटमै गोल खान पुगेको बंगलादेशले भने त्यस्पछि बल पोसेसन राख्दै अवसरहरु सिर्जना गर्यो । नवौ मिनेटमा बंगलादेश बराबरी गर्नको निकै नजिक पुगेको थियो ।
मोइनुल इस्लामको बक्स बाहिरबाट लिएको सट भारतका गोलकिपर लियोनेल रिम्मेटले सुन्दर बचाऊ गर्दा बल पोस्टमा लाग्न पुग्यो । ४०औ मिनेटमा राजु अहमदको प्रहार पनि क्रसबारमा लागेर फर्किएको थियो । बंगलादेश बराबरीको नजिक आइरहदा उता भारतले भने पहिलो हाफको अन्तिम समयमा अर्को गोल गर्यो ।
नाओबा पंगमबमले बंगलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिश गर्दा भारत पहिलो हाफमा २–० ले अघि थियो । पहिलो गोल खाएपछि सोधरिएको प्रदर्शन गरेको बंगलादेशलाई दोस्रो गोल खाएपछि भने खेलमा स्पष्ट अवसरहरू सृजना गर्न सफल रह्यो र खेलमा फर्किन सकेन ।
भारतले भने खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामले खेलको ९० औं मिनेटमा तेस्रो गोल गरेका थिए । जितसँगै भारतले समूह बी मा तीन अंक जोड्न सफल भएको छ।
समूह बी मा भारत र बंगलादेश बाहेक भुटान रहेको छ । प्रतियोगिताको दोस्रो खेलमा अहिले साँझ ५ः३० बजे घरेलु टोली नेपालले पाकिस्तानको सामना गर्दै छ । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।