Nepal Times
Nepal Times
234
Shares

पाकिस्तानी खेलाडीलाई भारतले किन भिसा ढिलो दियो ?

पाकिस्तानी खेलाडीलाई भारतले किन भिसा ढिलो दियो ?

९ असोज,एजेन्सी ।
विश्वकप खेल्न भारत आउन लागेको पाकिस्तानी क्रिकेट टोलीका खेलाडीहरुलाई भारतले ढिला गरि भिसा स्वीकृत गरेको छ । दुबई हुँदै हैदराबाद उड्ने ४८ घण्टाभन्दा कम समयअघि भारत सरकारले भिसा स्वीकृत गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो ।

उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले हिजो बेलुका स्वीकृति दिएको क्रिकइन्फोले जनाएको छ । टोली भोलि बिहान पाकिस्तानबाट उड्ने तालिका भए पनि हिजो बेलुकासम्म भिसा भएको थिएन । गएको जुलाईमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीलाई बीसीसीआईले पाकिस्तानी टोलीलाई समयमै भिसा उपलब्ध गराउने बताएको थियो ।

विश्व कपको १३औँ संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् । ४६ दिनसम्म चल्ने प्रतियोगिता अक्टोबर ५ तारिखमा शुरु हुनेछ भने फाइनल खेल नोभेम्बर १९ तारिखमा हुनेछ । प्रतियोगिता भारतका विभिन्न १० वटा सहरमा रहेको स्टेडियममा हुनेछ । यसैबीच विश्वकप सुरु हुन अब एक साता मात्र बाँकी रहँदा पाकिस्तानी खेलाडीहरु पारिश्रमिक नपाएर विद्रोह गर्ने अवस्थामा पुगेको खबरहरु बाहिरिएका छन् ।

पाकिस्तानी मिडियाका अनुसार खेलाडी र पाकिस्तानी क्रिकेट बोर्डबिचको विवाद अहिले उत्कर्षमा रहेको छ । पिसीबी र खेलाडीबिचको सेन्ट्रल कन्ट्रयाकको विषयमा पाँच महिनादेखिको विवाद विश्वकप नजिकिएसँगै थप पेचिलो बनेको हो । विवादको मुख्य कारण खेलाडीले ४ महिनादेखि तलब पाउन सकेका छैनन् ।

खेलाडीले स्पष्ट शब्दमा पिसीबीलाई यदि विश्वकप सुरु हुनुअघिसम्म आफ्नो सम्पूर्ण पारिश्रमीक भुक्तानी नभए टिम स्पोन्सरको जर्सी नलागउने बताएका छन् । साथै उनीहरूले विश्वकपमा कुनैपनि ब्रान्डको प्रमोसन इभेन्टहरूमा सहभागी नहुने घोषणासमेत गरेका छन् । विश्वका अन्य बोर्डको जस्तै पाकिस्तानले पनि आफ्ना खेलाडीलाई ‘सेन्ट्रल कन्ट्रयाक’ मा राख्ने गरेको छ ।

यसमा उसले विभिन्न क्याटगोरीहरू बनाएर खेलाडीलाई पारिश्रमिक दिँदै आएको छ । ‘ए’ क्याटगोरीमा शीर्ष खेलाडीहरू रहेका छन् । अहिले कप्तान बाबर अजाम, शाहीन शाह अफ्रीदी र मोहम्मद रिजवान रहेका छन् । ए क्याटगोरीका खेलाडीलाई पिसीबीले मासिक ४५ लाख (पाकिस्तानी रुपिस, करिब २१ लाख नेपाली रुपैयाँ) दिने घोषणा गरेको छ ।

तर खेलाडीको यो तलबमा राज्यले यतिधेरै ट्याक्स लगाएको छ कि उनीहरूले केबल २७ देखि २८ लाख अर्थात् १२ देखि १३ लाख नेपाली रुपैयाँ बराबर मात्र पाउँछन् । अत्याधिक ट्याक्सका कारण खेलाडी र पिसीबीबीच यही विषयमा विगत पाँच महिनादेखि विवाद चल्दै आएको छ ।

योबीचमा दुई जना पिसीबी चिफ परिवर्तन भए तर खेलाडीले तलब पाउन सकेनन् । पहिले नजम सेठी र अहिले जका अशरफ अध्यक्ष छन् । तर अब फेरी विश्वकप सकिने साथ पाकिस्तानी क्रिकेट बोर्डको अध्यक्ष परिवर्तन हुने छन् । त्यसैले खेलाडी विश्वकपअघि यो मामिला नसुल्झिए झनै लम्बिने भन्दै विरोधमा उत्रिएका हुन् । पाकिस्तान १९९२ को विश्व विजेता हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.