१३ असोज, एजेन्सी ।
अमेरिका सट डाउनले संकट बढाएको छ । संघीय सरकारका लागि एक महिनाको खर्च रकम (स्टपग्याप) जारी गर्न ल्याइएको विधेयक अमेरिकी संसदको तल्लो सदनबाट शुक्रबार अस्वीकृत भए पछि अमेरिकामा थप संकट बढेको हो । यो विधेयकमार्फत आइतबारदेखि आंशिक बन्दबाट बच्न सकिन्छ भन्ने सुनिश्चित गर्न लागिएको थियो ।
तर अमेरिकी संसदको रिपब्लिकन बहुल प्रतिनिधि सभाले राष्ट्रपति जो बाइडेनको प्रशासनको खर्च धान्न आंशिक रूपमा केही रकम उपलब्ध गराउने प्रस्तावलाई १९८ विरुद्व २३२ मतले अस्वीकृत ग¥यो । विशेष कुरा के छ भने यो विधेयक रिपब्लिकन सांसदहरुले ल्याएका हुन् ।
यस प्रस्तावमा बाइडेन प्रशासनको खर्चमा ३० प्रतिशतले कटौती गर्ने र ३० दिनको मात्र खर्च धान्न कोष जारी गर्ने गरी संसदहरुलाई सहमतिका लागि थप समय दिने प्रस्ताव गरिएको थियो । संघीय सरकारको काम ठप्प हुँदा तल्लो सदनका सदस्यहरुले के कस्ता कदम चाल्ने हो भन्ने अझै स्पष्ट भएको छैन् ।
डेमोक्र्याटको बहुमत रहेको सिनेटले यस सम्बन्धमा छुट्टै विधेयक ल्याउने तयारी गरिरहेको छ । यद्यपि तल्लो सदनका सभामुख केभिन म्याकार्थीले भने कि सदनले विधेयकलाई अनुमोदन नगर्ने बताए । रिपब्लिकन समर्थित बिल अस्वीकृत भएपछि मिडियासँग कुरा गर्दै म्याकार्थीले भने, ‘यो अझै अन्त्य भएको छैन, तिनीहरूसँग अन्य समाधानहरू पनि छन्।’ यद्यपि उनले नयाँ उपायहरूको बारेमा जानकारी साझा गरेनन् ।
म्याकार्थी पनि रिपब्लिकन पार्टीका हुन् । यदि अमेरिकी सांसदहरू यस सम्बन्धमा छिट्टै सहमतिमा पुग्न सकेनन् र खर्चको लागि रकम भेटिएन भने राष्ट्रिय निकुञ्ज सेवा बन्द हुनेछ । धितोपत्र तथा विनिमय आयोगले आफ्ना अधिकांश नियामक गतिविधिहरू बन्द गर्नु पर्ने हुन्छ भने ४० लाख संघीय कर्मचारीहरूको तलब संकटको सामना गर्नु पर्नेछ ।
समाचार अनुसार अमेरिकामा अक्टोबर १ देखि शटडाउन लागू भएसँगै अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । अमेरिकी संसदमा खर्चका लागि सरकारलाई रकम उपलब्ध गराउने विधेयक पारित नभएसम्म वा सरकारले थप ऋण लिन स्वीकृति नपाएसम्म यो बन्द जारी रहन सक्छ । यदि यसो भयो भने, यसले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरका अर्थतन्त्रहरूमा प्रभाव पार्न सक्छ ।