हेटौँडा, भदौ २३
लामो समयदेखि बन्द रहेको नेपाली वनस्पति घ्यू उद्योग लिमिटेडले तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । करीब एक दशक अगाडि विभिन्न कारणले बन्द भएको सो उद्योगले असोजको अन्तिम सातासम्म तोरीको तेल उत्पादन गर्ने बताएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा रहेको सो उद्योगले तोरीको तेल उत्पादन गरी उद्योग सञ्चालन गर्न चीनबाट रु १७ लाखको लागतमा आवश्यक मेसिनसमेत खरीद गरेको छ । उद्योगका महाप्रबन्धक मुकुन्द जोशीका अनुसार उद्योग सञ्चालन गर्न करीब रु ४० लाख लगानी भइसकेको छ । चीनबाट आयातित मेशिनको दैनिक १५० टन तोरीको तेल उत्पादन क्षमता रहेको बताइएको छ ।
बजारमा माग नरहेकाले उद्योगले वनस्पति घ्यू उत्पादन नगर्नेसमेत जनाएको छ । तोरीको तेल उत्पादन परीक्षण राम्रो भएमा थप लगानीसमेत गर्ने उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगले वनस्पति घ्यू उत्पादन गर्ने पुराना मेशिन हटाएर सनफ्लावर र सोयाबिन तेल उत्पादन गर्न लागेको जनाएको छ । २०३३ सालमा स्थापना भएको शान्ति वनस्पति घ्यू उद्योगले २०३९ साउनबाट शान्ति वनस्पति घ्यू, गृहिणी वनस्पति घ्यू र शान्ति सोयाबिन तेल उत्पादन गर्दै आएको थियो ।
विसं २०४४ बाट उद्योगको शेयर ९० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनको नाममा र १० प्रतिशत शेयर सर्वसाधारणको रहेकामा २०५५ सालदेखि उद्योग घाटामा गएपछि चौधरी गु्रपलाई भाडामा दिइएको थियो । चौधरी गु्रपलले पनि सञ्चालन नगरी त्यसै छोडेको थियो ।
रासस