२२ असोज, एजेन्सी ।
बलिउड सुपरस्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय पत्रिका दैनिक भास्करले जनाएअनुसार मुम्बई प्रहरीलाई फिल्म ‘पठान’ र ‘जवान’को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको जानकारी प्राप्त भएको छ । यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई वाई प्लस सुरक्षा दिएको छ ।
यो वाई प्लस सुरक्षाअन्तर्गत, ६ जना व्यक्तिगत सुरक्षा अधिकारी र ५ जना हतियारसहितका प्रहरी शाहरुख खानसँग २४सै घण्टा रहनेछन् । यसअघि शाहरुख खानको सुरक्षाका लागि मुम्बई प्रहरीका दुईजना कन्स्टेबल हरेक पल साथमा रहन्थे ।
मुम्बई प्रहरीले महाराष्ट्रका सबै पुलिस अधिकारीलाई सूचना जारी गर्दै सबै इकाइ कमाण्डरलाई शाहरुखको भ्रमण र संलग्नता क्षेत्राधिकारहरूलाई एक अधिसूचना जारी गरेको छ जसमा सबै इकाई कमाण्डरहरूलाई शाहरुख खानको भ्रमण र सहभागि हुन ठाउँमा तत्काल वाइ प्लसको सुरक्षा प्रदान गर्न भनिएको छ ।
यी प्रहरी कमाण्डोसँग एमपी–फाइभ मेसिन गन, एके–४७ असल्ट राइफल र ग्ल्याक पेस्तोल पनि साथमा हुनेछन् । प्रहरीका अनुसार शाहरुखको बंगलामा चार सशष्त्र सुरक्षाकर्मीको हरेक समय उपस्थिती हुनेछ । सुरक्षा कभरको खर्च शाहरुख खान आफैले बेहोर्नेछन् । यो जानकारी दिँदै प्रहरीले भारतमा निजी सुरक्षाकर्मीलाई आधुनिक हतियार लैजान नदिने बताएको छ ।
तर, प्रहरीले सुरक्षा जोखिम नरहेसम्म यस्तो सुविधा दिइरहने उल्लेख गरेको छ । यसअघि सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आएपछि वाई प्लस सुरक्षा प्रदान गरिएको थियो । यस बाहेक, आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरले एक्स सुरक्षा कभर पाएका छन् । जसमा उनीहरूले ३ पीएसओएस पाएका छन् जो उनीहरूसँग तीन सिफ्टमा २४ घण्टा बस्छन् ।