Nepal Times
Nepal Times
342
Shares

हमासका कारण कतारी राजा शेखको नेपाल भ्रमण स्थगित

हमासका कारण कतारी राजा शेखको नेपाल भ्रमण स्थगित

१३ कार्तिक, एजेन्सी ।
कतारका राजा अमिर शेख बिन हमाद अल थानीले नेपाल भ्रमण स्थगित गरेका छन् । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो ।

परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । अब कतारी अमिरको नेपाल भ्रमणको मिति आपसी छलफलको आधारमा पछि तय गरिने बताइएको छ । यसअघि नेपाली कांग्रेसले शनिवार आयोजना गरेको दसैँ चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कतारी शेख नेपाल आउने जानकारी गराएका थिए ।

कतारी राजा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण लगत्तै नेपाल आउने विषय नेपालको कूटनीतिक सफलता भएको समेत प्रधानमन्त्रीको जिकिर गरेका थिए । नेपाल र कतारबिच वैदेशिक लगानी, आयात र निर्यात तथा श्रम गन्तव्यका रूपमा आर्थिक सम्बन्ध कायम छ । कतार नेपालीहरूको प्रमुख वैदेशिक रोजगारको मुख्य गन्तव्य मध्येको एकको रूपमा रहेको छ ।

यद्यपी मित्रराष्ट्र भएर पनि कतारबाट नेपालले वैदेशिक रोजगारको मुख्य मध्येको एक गन्तव्य बाहेकको अन्य आर्थिक लाभ लिन सकेको छैन । रोजगारतर्फ भने नेपालबाट करिब ३ लाख नेपाली कतार पुगेको अनुमानित तथ्याङ्क छ, जसबाट वर्षेनी अर्बौँ रेमिट्न्यास आप्रवाह भइरहेको छ । यस्तै, कतार एयरवेजले नेपालमा सबैभन्दा धेरै उडान भर्दै आइरहेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार तथ्याङ्कमा चालू आर्थिक वर्ष २०८०÷८१ को तीन महिनाको अवधिमा कतारबाट ४७ करोड १० लाख रुपैयाँको वस्तु आयात भएको छ । जबकि, सोही समयमा नेपालबाट जम्मा ४ करोड ७९ लाख रुपैयाँको निर्यात भएको छ ।

यसअनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारसँगको व्यापारमा नेपाललाई ४२ करोड ३० लाख रुपैयाँ घाटा छ । कतारबाट नेपालमा पेट्रोलियम बिटुमिन, रेयर ग्यास, युरिया, ब्यूटी सामग्री, प्लास्टिक, लत्ताकपडा, कच्चा सुन लगायतका वस्तु आयात हुन्छ । नेपालबाट भने तरकारी, फलफूल, पास्ता, दालमोट, चाउचाउ, पापड, लत्ताकपडा, गार्मेन्ट लगायतका वस्तु निर्यात हुने गरेको देखिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.