Nepal Times
Nepal Times
99
Shares

नेपालसँग निरीह सिंगापुर, ८ विकेटले पराजित

नेपालसँग निरीह सिंगापुर, ८ विकेटले पराजित

१३ कार्तिक , काठमाण्डौ ।
अर्को वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले आजको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले टोलीका लागि ७४ रनको योगदान गरे । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए ।

उनले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धसतक पूरा गरेका हुन् । नेपालको पहिलो विकेटका रूपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनले टोलीका लागि २७ रनको योगदान गरेका थिए । उनले केवल २६ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए ।

त्यसपछि कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नेपालको पाली समालेका थिए । उनीहरूले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय ४१ रनसम्म पु¥याएका थिए । कप्तान रोहितले टोलीका लागि ३५ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका रोहितले २४ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए ।

कुशल मल्लले पनि अविजित ६ रन बनाए । उनले एक बलमा एक छक्का प्रहार गरे । नेपालले अतिरिक्त रूपमा पाँच रन पायो । त्यसअघि सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रनको योगदान गरेका थिए ।

पाँचौँ नम्बरका ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे । आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन थपे । नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए । यस्तै करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई—दुई विकेट हात पारे । सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए ।

गुल्सनले चार ओभरमा २१ रन खर्चिए । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ ।

सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ । नेपालले अब आफ्नो दोस्रो खेल मंगलबार मलेसियासँग र बिहीबार ओमानसँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.