२७ कार्तिक, काठमाण्डौ ।
सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।
सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो । योसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ । साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आह्वान गर्ने भएको छ । भूकम्प प्रभावितलाई तत्काल अस्थायी आवास निर्माण थाल्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।
उनका अनुसार भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त भएका, क्षतिग्रस्त नभए पनि बस्न योग्य नभएका घर पुनः निर्माणका लागि तत्काल ५० हजार निकासा गर्ने निर्णय बैठकले गरेको छ । यसअघि सरकारले भूकम्पबाट घर भत्किएका परिवारलाई पुनःनिर्माणका लागि जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।
भूकम्पले भत्किएका आवास बिमा अध्ययन गर्न मुख्यसचिवलाई जिम्मेवारी दिइएको जानकारी पनि उनले दिए । यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सय जनाजति घाइते भएका छन् ।
हजारौँ परिवार घरबासविहीन भएका छन् । भूकम्पपीडितका लागि विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिबाट सहयोग गर्ने क्रम जारी छ ।